फिलिपिन्समा जारी सबैभन्दा ठूलो सैन्य अभ्यास ‘बालिकातान’ मा न्युजिल्याण्डले पहिलोपटक सहभागिता जनाएको छ। विवादित दक्षिण चीन सागर नजिकका क्षेत्रमा केन्द्रित यो अभ्यासप्रति चीनले कडा चेतावनी दिएको छ।
‘बालिकातान’ अभ्यास ८ मेसम्म सञ्चालन हुनेछ, जसमा करिब १७ हजार सैनिक सहभागी छन्। तीमध्ये १० हजार अमेरिकी, ४०० अस्ट्रेलियाली र करिब ७० जना न्युजिल्याण्ड डिफेन्स फोर्स (NZDF) का सैनिक रहेका छन्।
यस वर्षको अभ्यासमा जापानले पनि पहिलोपटक सक्रिय रूपमा भाग लिएको छ, जहाँ उसले आफ्नै एन्टि-शिप मिसाइलसहित लाइभ-फायर ड्रिल गरेको छ। क्यानडा र फ्रान्सको पनि सहभागिता रहेको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक जापानले फिलिपिन्सको भूमिमा लडाकु सैनिक पठाएको हो।
यसैगरी, फिलिपिन्स र अमेरिकाले पहिलोपटक इटबायत टापुमा समुद्री आक्रमणसम्बन्धी अभ्यास गर्दैछन्, जुन क्षेत्र ताइवानको दक्षिणमा करिब २०० किलोमिटर दूरीमा पर्दछ र जसलाई चीनले आफ्नो दाबी गर्ने गरेको छ।
यस अभ्यासमा ड्रोन तथा अन्य मानवरहित प्रणालीहरूको व्यापक प्रयोग गरिएको छ, जसले यसलाई अघिल्ला अभ्यासभन्दा फरक बनाएको बताइएको छ।
यसैबीच, चीनले पनि आफ्नो शक्ति प्रदर्शन गर्दै नयाँ हाइपरसोनिक एन्टि-शिप मिसाइलको लाइभ फायरिङको भिडियो सार्वजनिक गरेको छ। सोही समयमा चीनको नौसैनिक बेडाले फिलिपिन्सको मुख्य टापु लुजोनको पूर्वी जलक्षेत्रमा अभ्यास गरिरहेको थियो।
चिनियाँ दूतावासका प्रवक्ताले क्षेत्रीय सुरक्षाका नाममा अन्य देशसँग गठबन्धन गर्नु “आगोसँग खेल्नु जस्तै” हुन सक्ने चेतावनी दिएका छन्।
“एशिया–प्रशान्त क्षेत्रलाई सबैभन्दा आवश्यक शान्ति र स्थिरता हो, विभाजन र टकराव होइन,” दूतावासले आरएनजेडलाई दिएको वक्तव्यमा भनिएको छ।
उनले सैन्य सहकार्यले कुनै तेस्रो पक्षलाई लक्षित गर्न नहुने र यसले क्षेत्रीय शान्ति तथा विश्वासमा असर पार्न नहुने समेत बताएका छन्।


