न्युजिल्याण्डका परराष्ट्र मन्त्री विन्स्टन पिटर्सको निजी आवासमा सोमबार राति आक्रमण भएको छ। मन्त्री पिटर्सका अनुसार एक अज्ञात व्यक्तिले उनको घरमा आएर झ्याल फुटाएको र ढोकामा एउटा बोर्ड टाँसेर गएको बताएका छन्।
पिटर्सले फेसबुकमार्फत लेखेका छन्, “आज राति एक कायर मेरो घरमा आइपुग्यो र झ्याल फुटायो। फुटेको सिसा मेरो कुकुरमाथि झर्यो। म घरमा थिइनँ, तर मेरो साथी र पाहुना थिए।”
उनले यो घटनालाई “हिंस्रक र घृणाले भरिएको व्यवहार” भएको भन्दै कडा शब्दमा विरोध जनाएका छन्। साथै, उनले देशमा बढ्दो राजनीतिक विभाजन र अतिवादप्रति गहिरो चिन्ता व्यक्त गर्दै भनेका छन्, “न्युजिल्याण्डका सबै नागरिकले गहिरो रूपमा चिन्ता गर्नुपर्ने समय आएको छ। हाम्रो देश कहाँ जाँदैछ, र कसले यस्तो विभाजनकारी र हिंस्रक व्यवहार फैलाइरहेका छन् भनेर बुझ्न जरुरी छ।”
यस घटनाप्रति प्रधानमन्त्री क्रिष्टोफर लकसनले समेत तीव्र निन्दा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “परराष्ट्र मन्त्री विन्स्टन पिटर्सको घरमा भएको तोडफोडप्रति म कडा शब्दमा निन्दा गर्दछु। यो अत्यन्तै लाजमर्दो कार्य हो। सार्वजनिक जीवनमा रहेका कसैको घरमा आक्रमण गर्नु वा परिवारलाई धम्क्याउनु कुनै पनि अवस्थामा उचित हुन सक्दैन।”
हाल घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।


