हामी नेपाली हौं, र हाम्रो पहिचान नै हाम्रो अस्तित्वको मेरुदण्ड हो। पहिचान भनेको केवल झण्डा फहराउनु वा राष्ट्रगीत गाउनु मात्र होइन, त्यो त हाम्रो दैनिक बानी, बोलिचाली, संस्कार र पर्व उत्सवमा झल्किने हाम्रो मौलिक आत्मा हो। यतिबेला एक गम्भीर प्रश्न उठिरहेको छ – हामी आधुनिकताको नाममा आफ्नै संस्कृतिलाई बिस्तारै भुलेर त छैनौं?
तिहार हाम्रो प्रमुख पर्व हो। यस पर्वले घर–आँगन उज्यालो मात्र बनाउँदैन, मन र सोचलाई पनि उज्यालो बनाउने शक्तिशाली सन्देश दिन्छ मृत्युलाई सम्झाउने काग तिहार, धन–सम्पत्तिको सम्मान गर्ने लक्ष्मी पूजा, पशुपालक संस्कृतिलाई सम्मान गर्ने गाई तिहार, भाइबहिनीको अमूल्य नातालाई अटुट बनाउने भाइटीका… यी सबै तत्वले तिहारलाई केवल “Festival of Lights” भन्दा धेरै गहिरो र नेपाली बनाउँछन्।
आजकल सामाजिक सञ्जालमा ‘Happy Diwali’ भन्ने पोस्ट देख्दा लाग्छ, हामी आफ्नै शब्द ‘तिहार’ बोल्दा लाज मान्न थालेका छौं कि? ‘Diwali’ शब्द गलत होइन, तर त्यो हाम्रो होइन। हामीलाई चाड होइन, चाडसँग जोडिएको पहिचान चाहिएको हो। जब हामी आफ्नै पर्वलाई विदेशी शब्दले पहिचान दिन थाल्छौं, तब त्यो पर्वको आत्मा मर्न थाल्छ। ‘दिवाली’ भारतीय शब्द हो, नेपाली होइन! हामीलाई हाम्रो संस्कृतिको गर्व हुनुपर्छ, अरूको नक्कल होइन। यदि हामी साँच्चै चाहन्छौँ नेपाललाई अष्ट्रेलिया वा संसारमा चिनाउन, त्यो सुरुवात आफ्नै शब्द, आफ्नै परम्परा र आफ्नै संस्कारबाट गर्नुपर्छ।
हामीलाई ‘Nepali Tihar Vibes’, ‘Pure Nepali Culture’, ‘Our Own Tradition’ भनिरहनु पर्दैन, यदि हामीले गर्वका साथ “तिहार” शब्द उच्चारण गर्यौं भने। हाम्रो संस्कृति भारतको छायाँमा होइन, हिमालको उज्यालोमा जन्मेको हो। नेपाललाई चिनाउन चाहनेहरूले सुरु आफ्नै शब्दबाट गरौं “शुभ तिहार”, “भाइटीकाको शुभकामना”, “तिहारको शुभकामना।”
अहिले समय छ, आफ्नो मौलिकता जोगाउने। आधुनिकता अपनाऔं, तर पहिचान बिर्सिएर होइन। लुगा बदल्न पाइन्छ, तर पहिचान होइन। बत्ती बलाउन पाइन्छ, तर उज्यालोको अर्थ बिर्सेर होइन। यस तिहार, एउटा सानो शपथ गरौँ – “म आफ्नो संस्कृति बोल्छु, आफ्नो संस्कार बोक्छु, र गर्वका साथ भन्छु, म तिहार मनाउँछु, दिवाली होइन।”
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उज्यालो, पहिचान र गर्वले भरिएको शुभ तिहारको हार्दिक शुभकामना।


