आगलागीका कारण काइकोरामा पाँच घर पूर्ण रूपमा जले – New Zealand News Nepal (NZ News Nepal)

आगलागीका कारण काइकोरामा पाँच घर पूर्ण रूपमा जले

   October 22, 2025  

न्युजिल्याण्डको काइकोरामा भीषण हावा र आगलागीका कारण पाँचवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। तीव्र हावाहुरीका कारण देशका धेरै भागहरूमा व्यापक क्षति पुगेको छ।

रातभर चलेको भीषण हावाले रुखहरू ढलेका छन्, बिजुलीका पोल र तारहरू क्षतिग्रस्त भएपछि हजारौँ मानिस विद्दुत बिहिन बनेका छन्। वेलिङ्टनमा भने एउटा रुखको हाँगाले लागेर एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ।

मौसम पूर्वानुमान निकाय MetService का अनुसार बुधबार केही राहत मिल्ने भए पनि बिहीबार पुनः तीव्र हावा र खराब मौसम फर्किने अनुमान गरिएको छ।

Fire and Emergency का सहायक राष्ट्रिय कमाण्डर केन कुपरका अनुसार मंगलबार मात्र १४ वटा संरचना नष्ट भएका छन्, जसमा पाँचवटा आवासीय घर पनि पर्छन्। उनले यस अवस्थालाई “अत्यन्त जोखिमपूर्ण हावा र आगलागीको अवस्था” भनेका छन् ।

कुपरका अनुसार दमकलकर्मीहरूले थप पाँच घर बचाउन सफल भएका छन्। “हामीले बुधबार हावाको गति केही कम हुने अपेक्षा गरेका छौँ, त्यस अवसरमा ग्राउन्डमा फर्केर बाँकी आगो नियन्त्रण र निभाउने काम तीव्र रूपमा अघि बढाइनेछ,” उनले भने।

करीब २० जनालाई सुरक्षित ठाउँमा सारिएको छ।काइकोरामा पाँच घर जलेर नष्ट

सुरक्षाकर्मी र आपतकालीन टोलीहरू अहिले पनि प्रभावित क्षेत्रमा खटिएका छन्, जहाँ हावाको पुनः तीव्रता आउँदै गर्दा थप जोखिमको सम्भावना देखिएको छ।