नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूजिल्यान्डको मौसम बिग्रिने संकेत – New Zealand News Nepal (NZ News Nepal)

नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूजिल्यान्डको मौसम बिग्रिने संकेत

   December 28, 2025  

नयाँ वर्षको उत्सव नजिकिँदै गर्दा नर्थ आइल्यान्डको पूर्वी क्षेत्रमा खराब मौसमले प्रभाव पार्ने देखिएको छ। मेटसर्भिसका अनुसार सोमबारदेखि व्यापक वर्षा र तीव्र हावाको असर पर्ने सम्भावना छ।

गिस्बोर्नमा आयोजना हुने ‘रिदम एन्ड भाइनस्’ कार्यक्रम वर्षासँगै सुरु हुन सक्ने देखिएको छ। मेटसर्भिसले सोमबार बिहान ६ बजेदेखि मंगलबारसम्म १८ घण्टाका लागि भारी वर्षासम्बन्धी चेतावनी जारी गरेको छ।

सोमबार बिहानै कोरोमन्डेल प्रायद्वीपमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। यस्तै, हक्स बे क्षेत्रमा सोमबार बिहान १० बजेदेखि झण्डै २४ घण्टासम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको छ।

यसैबीच, North Island का मनावातु, होरोव्हेनुआ र कापिति तटका लागि सोमबार साँझ ५ बजेदेखि तीव्र हावासम्बन्धी सुन्तला चेतावनी जारी गरिएको छ। पूर्वी दिशाबाट चल्ने कडा हावाले खुला स्थानहरूमा प्रतिघण्टा १२० किलोमिटरसम्मको झोक्का दिन सक्ने बताइएको छ।

उता, नेल्सन, बुलर, ग्रे जिल्ला तथा उत्तरी वेस्टल्यान्डमा पनि तीव्र हावाको निगरानी (वाच) जारी गरिएको छ, जहाँ सोमबार बिहान केही स्थानमा आँधीसरहको हावा चल्न सक्ने अनुमान गरिएको छ।

मंगलबारका लागि मेटसर्भिसले North Island का तारानाकी, मनावातु, कापिति र वेलिङ्टन क्षेत्रसहित मार्लबरो साउन्ड्स र गोल्डेन बेमा गम्भीर दक्षिण–पूर्वी आँधी आउने उच्च सम्भावना रहेको जनाएको छ। साथै, मार्लबरोका पहाडी क्षेत्र, नेल्सनका बाँकी भाग, बुलर, ग्रे तथा उत्तरी र मध्य वेस्टल्यान्डमा पनि कडा हावाको मध्यम सम्भावना रहेको छ।

नयाँ वर्षको पूर्वसन्ध्या (बुधबार) का दिन न्यूजिल्यान्डको पश्चिमतर्फ रहेको न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा उत्तरबाट आउने हावासँगै तारानाकी र नेल्सनमा ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान छ।

तर, नयाँ वर्षको दिन भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। मेटसर्भिसका अनुसार न्यूनचापीय प्रणालीका अवशेष South Island हुँदै अघि बढ्दा पश्चिमी र उत्तरी क्षेत्रमा केही समय वर्षा र छिटपुट झरी पर्नेछ। यद्यपि उत्तरपश्चिम नेल्सन र बुलर क्षेत्रमा चेतावनीस्तरको वर्षा हुने सम्भावना कम रहेको बताइएको छ।

जनवरी २ देखि भने छिटपुट झरीसहित दक्षिण–पश्चिमी हावा चल्ने भए पनि गम्भीर मौसमको जोखिम न्यून रहेको मेटसर्भिसले जनाएको छ।