नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नुमा सभापति शेरबहादुर देउवाको नेतृत्व प्रत्यक्ष रूपमा जिम्मेवार देखिन्छ । केवल पारिवारिक शैलीमा पार्टी चलाएको आरोप मात्र होइन, अघिल्लो पटक पार्टी विभाजनको इतिहास बोकेको नेताका रूपमा पनि देउवाले समयको संकेत बुझ्नुपर्ने थियो । दुर्भाग्यवश, उनको राजनीतिक यात्राको अन्त्य नायककै चरित्रगत कमजोरीका कारण भएको शेक्सपियरियन त्रासदीझैँ देखिन थालेको छ । कुनै असाधारण राजनीतिक चमत्कार नघटे, यो देउवाको सक्रिय राजनीतिक जीवनको अन्तिम अध्याय हुनसक्छ ।
यदि केन्द्रीय समितिले विशेष महाधिवेशनको प्रस्ताव स्वीकारेको भए सायद सहमतिको ढोका अझै खुला रहन सक्थ्यो । तर चुनावको मुखमा पार्टी पुनर्गठनले एकातिर कार्यकर्तामा उत्साह जगाएको छ भने अर्कोतिर विभाजन र निराशा पनि उत्तिकै देखिन्छ । दल सञ्चालनमा विधान निर्णायक हुनु स्वाभाविक हो, तर नेपालका कतिपय कानुनी संरचना प्राकृतिक न्यायको सिद्धान्तसँग मेल नखाने हुँदा अन्तिम फैसला अदालतबाट गरिनुपर्ने विडम्बना दोहोरिइरहेको छ । लोकतन्त्रको मर्मअनुसार भने बहुमत नै अन्तिम निर्णायक हो ।
करिब दुई दशकभित्र नेपाली कांग्रेसलाई दुईपटक विभाजनको संघारमा पुर्याउने पात्रका रूपमा इतिहासले देउवालाई चित्रण गर्ने सम्भावना प्रबल छ । विगतमा सङ्कटकालको अवधि नबढाउने पार्टी निर्णयविरुद्ध तत्कालीन राजाको उक्साहटमा लागेर उनले पार्टी फुटाएका थिए । त्यस क्रममा लोकतन्त्र कमजोर पार्ने षड्यन्त्रमा देउवा गोटी बने । पार्टी, कार्यकर्ता र जनताले त्यो गल्ती क्षमा गरे पनि इतिहासले बिर्सने छैन ।
आज पनि विधानसम्मत मागसहित पार्टीलाई अगाडि बढाउन खोजिरहेका महाधिवेशन प्रतिनिधिको आवाज दबाउन खोज्दा देउवा स्वयं पार्टीबाट अलगिनुपर्ने अवस्थामा पुगेका छन् । सानेपाको भवनको साँचो उनका निकट सहयोगीसँग हुनसक्छ, तर नेपाली कांग्रेसको संगठन, मूल्य र आत्मा भने मूलधारमा उभिएका युवा प्रतिनिधिहरूसँग देखिन्छ । बहुमतको चाहनाअनुसार नेतृत्व हस्तान्तरण गर्दै सम्मानजनक अवकाश रोजेका भए सायद देउवाप्रति इतिहास कठोर भए पनि जनताले केही कमजोरीहरू बिर्सन सक्थे ।
देउवाको राजनीतिक उदय नियतिले उचालेको ग्रिक त्रासदीका नायकझैँ थियो, तर पतन भने आफ्नै चरित्रगत कमजोरीका कारण शेक्सपियरियन दुःखान्तमा परिणत भयो । जेन–जी आन्दोलनपछि सभापतिले कार्यवाहक भूमिका सुम्पिसकेपछि पुनः कार्यकारी शक्तिप्रति मोह नदेखाएको भए आजको अवस्था आउने थिएन ।
‘अब पछताए होत क्या जब चिडिया चुग गई खेत’ भन्ने उखान अहिले देउवा र उनका सहयोगीहरूमा ठ्याक्कै लागू हुने देखिन्छ । समयमै लचकता देखाएको भए सम्भवतः यो राजनीतिक नाटक दुःखान्तमा समाप्त हुने थिएन । अझै पनि मोह र अहङ्कार त्याग्ने हो भने व्यक्तिगत रूपमा शान्ति त पाउन सक्लान्, तर नेपाली कांग्रेसभित्र बेथिति निम्त्याएर लोकतन्त्र कमजोर बनाएको दोषसहितको अवकाश भने देउवाको नियति बन्ने संकेत देखिइरहेका छन् ।


