ताजा अपडेट

बे अफ प्लेन्टीमा ‘अत्यधिक वर्षा’ हुने

227 Shares

न्युजील्याण्डको बे अफ प्लेन्टी क्षेत्रमा भोलिसम्म लागू हुने गरी रेड हेभी रेन (अत्यधिक वर्षा) चेतावनी जारी गरिएको छ।

मेटसर्भिसका अनुसार यस क्षेत्रमा यसअघि परिसकेको वर्षामाथि थप १८० देखि २४० मिलिमिटर वर्षा हुन सक्नेछ। आज साँझदेखि वर्षाको तीव्रता बढ्दै प्रति घण्टा २५ देखि ४० मिलिमिटरसम्म वर्षा पर्ने अनुमान गरिएको छ।

मेटसर्भिसले गम्भीर बाढी र पहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको छ। नदीहरू अत्यन्तै खतरनाक अवस्थामा पुग्न सक्ने र यस्तो अवस्था ज्यानका लागि समेत जोखिमपूर्ण हुन सक्ने बताइएको छ।

“मौसमका कारण यात्रा प्रभावित हुनेछ, केही सडक पूर्ण रूपमा बन्द हुन सक्छन् र कतिपय समुदाय अलगथलग पर्न सक्छन्,” चेतावनीमा भनिएको छ।

नागरिकहरूलाई बाढीको पानीमा नजान, अनावश्यक यात्रा नगर्न र अत्यन्त सतर्क रहन आग्रह गरिएको छ।
“यदि पानीको सतह बढ्दै गएको देख्नुभयो भने ढिलाइ नगरी सुरक्षित स्थानतर्फ आफैं स्थानान्तरण गर्नुहोस्। विद्युत् र सञ्चार सेवा अवरुद्ध हुनसक्ने तयारी पनि गर्नुहोस्,” मेटसर्भिसले जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै