न्युजिल्याण्डमा गत महिना होली कार्यक्रमका लागि आएका भारतीय सांस्कृतिक कलाकारमध्ये करिब एक दर्जन व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको भन्दै ईमिग्रेसन न्युजिल्याण्डले खोजी सुरु गरेको जनाएको छ। ती कलाकारहरू बलिउड गायिका शिवानी कश्यपको प्रस्तुति समावेश रहेको “Community Holi Celebration with Shibani Kashyap” कार्यक्रमका लागि न्युजिल्याण्ड आएका थिए।
इमिग्रेसन न्युजिल्याण्डका अनुसार २७ जना भारतीय नागरिकको भिसा आवेदन मूल्याङ्कन गरिएको थियो, जसका लागि अकल्याण्डस्थित भारतको महावाणिज्य दूतावास सम्पर्क बिन्दु बनेको थियो। समूहबाट १८ जना न्युजिल्याण्ड आएका थिए। तीमध्ये ३ जना फर्किसकेका छन् भने १५ जना अझै देशभित्र रहेका छन्, जसमा ४ जनासँग वैध भिजिटर भिसा रहेको जनाइएको छ।
प्रारम्भमा ७ वटा आवेदन स्वीकृत गरिएको र ४ वटा शंकास्पद कागजातका कारण अस्वीकृत गरिएको थियो भने पछि कार्यक्रमका लागि मात्र प्रयोग हुने १३ वटा छोटो अवधिको सीमित भिसा स्वीकृत गरिएको थियो। ईमिग्रेसन न्युजिल्याण्डले अब भिसा अवधि सकिएपछि पनि देशमै बसेको आशंकामा रहेका व्यक्तिहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेको र यस विषयमा अकल्याण्डस्थित भारतको महावाणिज्य दूतावास सँग पनि समन्वय भइरहेको जनाएको छ।


