न्युजिल्याण्डको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स एयर न्युजिल्याण्डले यस वर्षको अन्त्यतिरदेखि क्राइस्टचर्च अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल, टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थल तथा अष्ट्रेलियाको पर्थ विमानस्थलसम्म तीन नयाँ अन्तर्राष्ट्रिय नन–स्टप उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
यी नयाँ रुटहरू दक्षिण टापुको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यसहित क्राइस्टचर्च विमानस्थल सँगको सहकार्यमा ल्याइएको हो।
बुधबार अकल्याण्डमा आयोजित एक पर्यटन कार्यक्रममा एयर न्युजिल्याण्डका प्रमुख कार्यकारी अधिकृत निखिल रविशंकरले क्राइस्टचर्च एयरपोर्टका प्रमुख कार्यकारी अधिकृत जस्टिन वाटसन तथा प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँगै नयाँ उडानहरूको घोषणा गरेका हुन्।
हालै इन्धन खर्च अत्यधिक बढेका कारण एयर न्युजिल्याण्डले केही उडानहरू कटौती गरेको थियो। तर लामो समयदेखि देखिएको इन्जिनसम्बन्धी समस्याहरू समाधान भएसँगै कम्पनीले थप विमान सेवा सञ्चालनमा ल्याउन सक्ने अवस्था बनेको जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत रविशंकरले यी नयाँ रुटहरू क्राइस्टचर्चलाई एशियाका प्रमुख अन्तर्राष्ट्रिय हबहरूसँग पुनः प्रत्यक्ष रूपमा जोड्ने र अष्ट्रेलियासँगको सम्पर्क अझ मजबुत बनाउने उद्देश्यले ल्याइएको बताए।
उनले भने, “न्युजिल्याण्डको राष्ट्रिय एयरलाइन्सको रूपमा हामी देशव्यापी कनेक्टिभिटीबारे सोच्दछौँ। ग्राहक, क्षेत्रीय विकास र अर्थतन्त्रका लागि अधिकतम अवसर सिर्जना गर्ने दिशामा हामी काम गरिरहेका छौँ।”
उनले थपे, “विमानहरू पुनः सेवामा फर्किन थालेपछि अब हामी विस्तारतर्फ अघि बढ्ने उत्कृष्ट अवस्थामा पुगेका छौँ, र यसको सुरुवात दक्षिण टापुबाट हुनु खुशीको विषय हो।”
यससँगै एयर न्युजिल्याण्ड र क्राइस्टचर्च एयरपोर्टबीच दीर्घकालीन योजना र दिगो विकासका लागि सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
क्राइस्टचर्च एयरपोर्टका प्रमुख कार्यकारी अधिकृत जस्टिन वाटसनले यसलाई “ऐतिहासिक क्षण” को संज्ञा दिएका छन्।


