२८ नोभेम्बर सन् १९७९, एयर न्युजिल्याण्डको फ्लाईट ९०१ मार्फत नियमित साईट अवलोकनका लागि अन्टार्क्टिकाका लागि उडेको बिमान दुर्घटना परि बिमानमा सवार सबै २५७ जनाले ज्यान गुमाएको दिन । यो दुर्घटनालाई न्युजिल्याण्डको हवाई ईतिहासकै सबै भन्दा भयानक दुर्घटनाको रुपमा लिने गरिन्छ । एयर न्युजिल्याण्डले सन् १९७७ बाट अकल्याण्डबाट अन्टार्क्टिकाको सिधा हवाई उडान सुरु गरेको थियो । पर्यटकिय हिसावले सुरु गरिएको यो उडानले ११ घण्टा उडान भर्थ्यो । अन्टार्क्टिकाको आकाशमा केही फन्को मारेर यो उडान साउथ आईल्याण्डको क्राईसचर्चमा अवतरण हुन्थ्यो । त्यसपछि त्यहा ईन्धन हालेर बिमान पुन: अकल्याण्ड फर्किन्थ्यो ।

४५ वर्ष अगाडि पनि नोभेम्बर २८ का दिन एयर न्युजिल्याण्डको फ्लाईट टिएल ९०१ मार्फत एक बिमान २३७ यात्रु र २० चालक दलका सदस्य सहित अन्टार्क्टिका तर्फ उडान भरेको थियो । अकल्याण्डबाट बिहान ८ बजे उडेको बिमान सोही दिन साझँ ७ बजे क्राईसचर्चमा ईन्धन हालेर राती ९ बजे अकल्याण्ड अवतरण गर्ने तालिका थियो । तर उक्त दिन बिमान अन्टार्क्टिकामै दुर्घटना हुन पुग्यो । अन्टार्क्टिकाको माउट ईरेबसमा उक्त बिमान दुर्घटना हुँदा बिमानमा सवार सबै यात्रु र चालक दल गरि २५७ जनाको मृत्यु भयो । उक्त बिमान दुर्घटनामा परि न्युजिल्याण्डका १८० यात्रु, जापानका २४, अमेरिकाका २२, बेलायतका ६, क्यानडाका २ र अष्ट्रेलिया, फ्रान्स र स्विट्जरल्याण्डका १-१ गरि सबै २३७ यात्रुले ज्यान गुमाएका थिए । त्यस्तै चालक दलका २० सदस्य सबै न्युजिल्याण्डका नागरिक रहेका थिए ।
बिहान ८ बजे अकल्याण्डबाट उडेको बिमान न्युजिल्याण्ड समय अनुसार दिउसो १२:४७ मा दुर्घटना भएको थियो । बिमान दुर्घटनाको कारण पाईलटको गल्ती बताईएको थियो । उडान भर्ने दुवै पाईलटले पहिलो पटक अन्टार्क्टिकाको उडान गर्दै थिए । उनिहरु त्यो रुटमा अनुभवी नभएकाले नै दुर्घटना भएको बताईएको छ । अन्टार्क्टिकाको केही फन्को मारेर न्युजिल्याण्ड फर्किने तरखरमा रहेको बिमानले एक्कासी गति परिवर्तन गरेको थियो । त्यसपछि पाईलटले बिमानलाई गतिमा ल्याउन सकेनन् । बरफ नै बरफले भरिएको अन्टार्क्टिकामा बिमान कुन दिसामा जादैँ छ भन्ने पाईलटले पत्तो पाउन सकेनन् । बिमानलाई McMurdo Sound तर्फ लगिरहेको ठानेका पाईलटले बिमानलाई Lewis Bay तर्फ लगिरहेका थिए जुन माउट ईरेबस नजिकै थियो । केही समय पछि बिमानले खतराको सकेँत गर्दै बिमान जमिनबाट केही मिटर उचाईमा मात्र रहेको सुचित गर्यो । त्यसपछि पाईलटले पुरा पावर दिएर बिमानलाई माथि लान खोजे तर त्यो बेला सम्म ढिला भईसकेको थियो । त्यस्को केही सेकेन्डमा नै बिमान माउन्ट ईरेबसमा ठोक्किन पुग्यो र ठुलो दुर्घटनाको सिकार बन्न पुग्यो ।

बिमान दुर्घटनाको सुचना पाएपछि न्युजिल्याण्ड र अन्टार्क्टिकाबाट ठुलो संख्यामा उद्दार टोली दुर्घटनास्थल पुगेका थियो । करिब २० घण्टाको कोसिस पछि उद्दार टोलीले दुर्घटनास्थल पत्ता लगाएका थिए । उद्दार टोली त्यहाँ पुग्दा अवस्था भयानक थियो र कोही पनि जिवित नरहेको सुचना अकल्याण्डसम्म पुर्याईएको थियो । ज्यान गुमाएका २५७ मध्ये १६ जनाको शव नचिनिने अवस्थामा रहेको थियो र उनिहरुको सनाखत हुन पनि समस्या भएको थियो । त्यस्तै २८ जनाको त शव पनि नभेट्टिएको बताईएको छ । दुर्घटनाको केही दिन पछि सार्वजनिक गरेको रिपोर्ट अनुसार पाईलटको गल्तीका कारण दुर्घटना भएको निष्कर्श निकालिएको थियो । त्यसै अनुभव नभएका पाईलट लाई उक्त रुटमा पठाएको भन्दै एयर न्युजिल्याण्डको चर्को आलोचना समेत भएको थियो ।
न्युजिल्याण्डको ईतिहासमा यो दुर्घटना अहिले सम्मकै ठुलो दुर्घटनाको रुपमा लिईन्छ ।


