यो वर्षको बिजयादशमी न्युजिल्याण्डमा बसोबास गर्नेहरुका लागि अन्योलताको बिच मनाईने भएको छ ।
सधैंका वर्षमा पहिला न्युजिल्याण्डमा टिका लगाउने र केही समय पछि नेपालमा दशैंको टिका हुन्थ्यो । टिकाको दिन न्युजिल्याण्ड र नेपाल बिच ७ घण्टा १५ मिनेटको फरक हुन्छ । नेपालमा राती नै हुँदा न्युजिल्याण्डमा टिका लगाईन्थ्यो र नेपालमा टिका लाउदा न्युजिल्याण्डमा साझँ भईसकेको हुन्थ्यो । समय अगाडि भएकाले पनि न्युजिल्याण्डमा पहिला टिका लगाउने र नेपालमा साईत अनुसार बिहान टिका लगाउने गरिन्थ्यो । तर यो वर्ष भने परिस्थिती अलि फरक देखिने भएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले न्युजिल्याण्ड र अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले यो वर्ष अक्टोबर १३ तारिक आईतबारको दिन बिजयादशमीको टिका लगाउनु पर्ने भन्दै एउटा बिज्ञप्ती जारी गर्यो । अक्टोबर १३ अर्थात यो वर्षको बिजयादशमीको भोलीपल्ट । नेपालमा अघिल्लो दिन अक्टोबर १२ मा नै टिका लगाउनु पर्ने र न्युजिल्याण्डमा भने अक्टोबर १३ का दिन टिका लगाउनु पर्ने भनेपछि न्युजिल्याण्डमा बसोबास गर्ने नेपालीहरु अन्योलमा परेका छन् । कतिपयले नेपालमा टिकाको दिन नै अर्थात अक्टोबर १२ शनिबार नै टिका लगाउने बताईरहेका छन् भने कतिपयले यो नौलो अभ्यास पनि प्रयोग गरौ भन्दै आईतबार टिका लाउने निर्णय गरेका छन् । दशमी तिथि उदयकालीन समय फरक भएकाले यो वर्ष न्युजिल्याण्ड र अष्ट्रेलियामा नेपालमा दशैंको टिका लगाएको एक दिन पछि टिका लगाउनु पर्ने बताईएको छ ।
अक्टोबर १२ मै दशैंको टिका लगाए के हुन्छ ?
नेपालमा टिका लगाउने दिन नै न्युजिल्याण्डमा पनि टिका लगाए के हुन्छ भने जिज्ञासा सबै माझ हुनसक्छ । यस्मा भने ज्योतिषीहरुले शास्त्रीय विश्वासलाई जोडेका छन् । ज्योतिषीहरुका अनुसार दशैंमा लगाईने टिका सँगै आशिर्बाद जोडिएको हुन्छ , केही फल पाउने आशले पनि चाड पर्वहरु मनाउने गरिन्छ , त्यसैले भौगोलिक हिसाबले र शास्त्रीय मन्यता अनुसार न्युजिल्याण्डमा अक्टोबर १२ मा नै टिका लगाउनु भने उचित नहुने ज्योतिषीहरुले बताएका छन् । दशैंको टिका साईत हेरेर लगाईने भएकाले पनि टिकाको साईत न्युजिल्याण्डमा अक्टोबर १३ मा पर्न जान्छ र अगाडि नै टिका लगाउनुको कुनै अर्थ नहुने ज्योतिषीहरुको भनाई रहेको छ । दशैंमा टिकाको साईत चन्द्रमाको उदयलाई लिएर निकालिने गरिन्छ सोही अनुरुप न्युजिल्याण्ड र अष्ट्रेलिया लगायत देशमा अक्टोबर १३ मा नै दशैंको साईत पर्न जान्छ र सोही दिन टिका थाप्दा फलदायी हुने ज्योतिषीहरुले बताएका छन् ।


