जाडो सकिनु भन्दा अगाडि पनि न्यू जील्याण्डमा चिसो थपिने सम्भावना प्रबल छ। शनिवारदेखि देशव्यापी रूपमा चिसो हुने र तापक्रम घट्ने भएकोले, हिमपात र फ्रस्टको सम्भावना देखिन्छ। पर्वतीय क्षेत्रहरूमा हिमस्तर गिरावट आउनसक्छ र अधिकतम तापक्रम धेरै ठाउँमा एकाङ्कमै सीमित हुनेछ।
विशेषगरी दक्षिणी तथा उच्च भू–भागहरूमा हिमपातको जोखिम उच्च रहेको छ, जसअन्तर्गत क्यान्टर्बरी र ओटागो क्षेत्रमा हिउँ पर्न सक्ने सम्भावना छ। उत्तर टापुका केही क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार धेरैजसो स्थानमा रातिको न्यूनतम तापक्रम शून्यको आसपास वा माइनसमा पुग्न सक्नेछ, जसले फ्रस्टको अवस्था निम्त्याउनेछ। हालै ओटागो र टाउमारुनुई क्षेत्रमा तापक्रम –५ डिग्री सेल्सियससम्म झरेको मेटसर्भिसको रिपोर्टमा उल्लेख छ। डुनिडिन, मास्टरटन, तौपो र क्राइस्टचर्च लगायतका सहरहरूमा दिनको अधिकतम तापक्रम ५ देखि ९ डिग्री सेल्सियसबीच सीमित हुने अनुमान छ।
मेटसर्भिसले चिसो मौसम अझै केही समय रहने भएकाले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई सुझाव दिएको छ।
न्यूजील्याण्डमा सामान्यतया सेप्टेम्बर महिनाबाट जाडो घट्दै जान्छ र बसन्त ऋतुको प्रारम्भ हुन्छ। डिसेम्बरबाट भने त्यहाँ गर्मी महिना सुरु हुने गर्छ। पुनः मार्चदेखि मेसम्म शरद ऋतु रहन्छ र जुनदेखि अगस्टसम्म जाडो याम हुने गर्छ।


