न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लकसन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीजी अहिले क्विन्सटाउनमा भेटवार्ता गरिरहेका छन्, जहाँ मध्यपूर्वसँग सम्बन्धित विषयहरू प्रमुख एजेन्डामा रहेको बताइएको छ।
वार्षिक अष्ट्रेलिया–न्युजिल्यान्ड नेताहरुको बैठक (Australia-New Zealand Leaders’ Meeting) शनिबार क्विन्सटाउनमा भएको हो । बैठकको सुरुवात एनगाई ताहु समुदायद्वारा गरिएको पोह्विरी स्वागत कार्यक्रमबाट भयो, जसलाई अल्बानीजीले “अत्यन्तै भावुक बनाउने” अनुभव बताएका छन्।
आफ्नो पत्नी हेडनसँगै आएका अल्बानीजीले लकसन र उनकी पत्नी अमान्डालाई “उदार र न्यानो स्वागत” को लागि धन्यवाद दिंदै न्युजिल्यान्डमा पुनः फर्कन पाउनु “आनन्दको विषय” भएको बताए। उनले ब्याकप्याकरका रूपमा क्विन्सटाउन आएको सम्झना गर्दै यो स्थानमा बैठक गर्न पाउनु “सम्मान” भएको बताए।
अल्बानीजीले अनिश्चित विश्व परिस्थितिबीच अष्ट्रेलिया र न्युजिल्यान्डबीचको सम्बन्ध सधैं मजबुत रहेको उल्लेख गरे। लकसनले पनि “हामीसँग अष्ट्रेलियाभन्दा ठूलो मित्र छैन” भन्दै ट्रान्स–तस्मान सम्बन्ध अहिले “इतिहासकै उत्कृष्ट अवस्थामा” रहेको बताए।
यस वर्षको बैठकमा गाजा क्षेत्रमा भएको मानवीय सङ्कट, प्यालेस्टिनी राज्य मान्यता, सुरक्षा, रक्षा र आर्थिक चुनौतीहरू मुख्य छलफलका विषय बनेका छन्। यसअघि शनिबार नै न्युजिल्यान्ड, अष्ट्रेलिया, जर्मनी, इटाली र बेलायतका विदेश मन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै गाजामा इस्रायलको पछिल्लो सैन्य कारबाहीको निन्दा गरेका थिए। वक्तव्यमा यस कदमले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न सक्ने र “विपत्तिजनक मानवीय अवस्था” थप बिगार्ने चेतावनी दिइएको छ।
फ्रान्स, क्यानाडा र बेलायतले आगामी संयुक्त राष्ट्रसंघ शिखर सम्मेलनमा प्यालेस्टाइनलाई मान्यता दिने संकेत गरेसँगै, लकसन र अल्बानीजी दुवैले फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोंसँग यस विषयमा अलग–अलग भेटवार्ता गरेका थिए। न्युजिल्यान्ड र अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिने कुरा “कहिले भन्ने मात्रको प्रश्न” भएको जनाए पनि समयसीमा भने तोकिएको छैन।
अल्बानीजी शनिबार दिउँसो ‘अष्ट्रेलिया–न्युजिल्यान्ड लिडरशिप फोरम’को व्यापार गोलमेच कार्यक्रममा पनि सहभागी हुनेछन्। आइतबार भने दुवै नेताले एरो टाउन वार मेमोरियल पार्कमा सम्मान अर्पण गरेपछि अल्बानीजी स्वदेश फर्कनेछन्।


