मध्यरातमा क्राइस्टचर्चमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु, एक पुरुष घाइते, के हो घटना ? – New Zealand News Nepal (NZ News Nepal)

मध्यरातमा क्राइस्टचर्चमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु, एक पुरुष घाइते, के हो घटना ?

- बुधबार राति करिब ११ बजे एक पुरुषले आफैंलाई र आफ्नी साथीलाई छुरा देखाएर धम्की दिएको जानकारी प्राप्त भएपछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो।
   August 14, 2025  

क्राइस्टचर्चको क्लाइड रोडमा प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब ११ बजे एक पुरुषले आफैंलाई र आफ्नी साथीलाई छुरा देखाएर धम्की दिएको जानकारी प्राप्त भएपछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो।

प्रहरीका अनुसार केही समयमै प्रहरी घटनास्थल पुगेपछि, एक महिला घरबाट बाहिर भागिन् र उनको पछिपछि छुरा बोकेका एक पुरुष पनि पछ्याउँदै आएका थिए।

क्यान्टर्बरी जिल्ला कमाण्डर सुपरिन्टेन्डेन्ट टोनी हिलका अनुसार, महिलाको ज्यान जोखिममा रहेको देखेर प्रहरीले पुरुषलाई गोली प्रहार गरेको थियो, जसमा उनी गम्भीर घाइते भएका थिए।

तर त्यसपछि महिलाले उक्त छुरा उठाएर प्रहरीलाई धम्की दिइन्। प्रहरीहरूले उनलाई हतियार फ्याँक्न आग्रह गरे पनि उनी अघि बढ्दै गइन् । त्यसपछि प्रहरीले महिलामाथि पनि गोली प्रहार गरेका थिए, जसमा उनी गम्भीर घाइते भएकी थिइन्।

तत्काल प्रारम्भिक उपचारको प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते पुरुष हाल अस्पतालमा गम्भीर अवस्थामा रहेका छन्। घटनास्थल वरिपरि सुरक्षा व्यवस्था कडाइ गरिएको छ र केही दिनसम्म प्रहरीको उपस्थिति रहने जनाइएको छ। क्लाइड रोडको केही भाग बन्द गरिएको छ।

यस घटनाबारे गम्भीर अनुसन्धान भइरहेको र गोलीकाण्ड सम्बन्धी विवरण स्वतन्त्र प्रहरी आचरण प्राधिकरण (IPCA) लाई समेत पठाइने जनाइएको छ।