अष्ट्रेलिया तथा न्युजिल्याण्डका लागि नेपाली राजदूत चित्रलेखा यादवले न्युजिल्याण्डमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्। उनले न्युजिल्याण्डकी गभर्नर–जनरल सिन्डी किरो समक्ष वेलिङ्टनस्थित गभर्नमेन्ट हाउसमा आयोजित विशेष समारोहमा प्रमाणपत्र बुझाएकी हुन्।
राजदूत यादवले अष्ट्रेलियासँगै न्युजिल्याण्डसमेत हेर्ने जिम्मेवारी भएकाले यसपछि न्युजिल्याण्डमा औपचारिक रूपमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिएको हो। यससँगै उनले दुवै देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार तथा सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सोही अवसरमा अंगोला गणतन्त्रका राजदूत महामहिम एन्टोनियो लुभुआलु डे कार्भालो तथा इक्वेडोर गणतन्त्रकी राजदूत महामहिम पेट्रिसिया टेरान बास्सोले पनि आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
गभर्नमेन्ट हाउसमा सम्पन्न उक्त समारोहमा विभिन्न देशका कूटनीतिक प्रतिनिधि तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।


