न्यूजिल्याण्डमा पनि पटक–पटक ‘मध्यावधि’ चुनावको इतिहास – New Zealand News Nepal (NZ News Nepal)

न्यूजिल्याण्डमा पनि पटक–पटक ‘मध्यावधि’ चुनावको इतिहास

   September 25, 2025  

न्यूजल्यान्डमा तीन वर्षे कार्यकालभित्रै संसद् विघटन गरी समयअघि आमनिर्वाचन गर्ने परम्परा पटक–पटक दोहोरिएको छ। संविधानअनुसार सामान्यतया हरेक तीन वर्षमा आमनिर्वाचन हुने व्यवस्था छ, तर प्रधानमन्त्रीको सिफारिसमा गभर्नर–जनरलले संसद् चाँडै विघटन गर्न सक्ने भएकाले कहिलेकाहीँ ‘स्न्याप’ अर्थात् मध्यावधि चुनाव पनि भएका छन्।

सन् १९५१ मा तत्कालीन प्रधानमन्त्री सिड्नी हल्याण्डले वेटरफ्रन्ट मजदुर विवादका बीच संसद् विघटन गरी मध्यावधि चुनाव गरेका थिए। १९४९ को निर्वाचनमा चार कार्यकालपछि लेबर पार्टीलाई सत्ताबाट हटाउँदै नेसनल पार्टीले पहिलोपटक सरकार गठन गरेको थियो। सिड्नी हल्याण्डको नेतृत्वमा सरकारका आर्थिक तथा संवैधानिक सुधार भए पनि लेबर सरकारले ल्याएको सामाजिक सुरक्षाको प्रणालीमा खासै हस्तक्षेप गरिएको थिएन। १९५० मा स्वास्थ्य समस्या कारण लेबर नेता पिटर फ्रेजरको निधन भएपछि वल्टर नाशले नेतृत्व सम्हालेका थिए।
त्यतिबेला बढ्दो औद्योगिक अशान्ति, विशेषतः डकवर्कर्स विवाद, १९५१ को चुनावको मुख्य विषय बनेको थियो। हल्याण्डले ‘औद्योगिक अराजकता’ भन्दै कडा रुपमा प्रहार गरे भने लेबर पार्टीले मध्यमार्गी भूमिका लिन खोज्दा दुबै पक्ष असन्तुष्ट बने। यही विवादमा कडा कदम चाल्ने जनमत लिन हल्याण्डले मध्यावधि चुनाव गरेका थिए।

यस्तै, १९८४ मा तत्कालीन प्रधानमन्त्री रोबर्ट मुल्डुन नेतृत्वको नेसनल पार्टी सरकारले आकस्मिक रूपमा चुनाव घोषणा गर्दा सत्ताबाट बाहिरिनु परेको थियो। मुल्डुनको सरकारसँग संसद्‍मा सानो बहुमत मात्रै थियो र आफ्नै पार्टीभित्र असन्तुष्टि बढेको थियो। प्रतिपक्षीले ल्याएको एन्टी–न्यूक्लियर विधेयकमा आफ्नी सांसद म्यारिलिन वारिङले समर्थन गर्ने बताउँदा मुल्डुनले १४ जुन १९८४ मा टेलिभिजनमार्फत आकस्मिक चुनाव घोषणा गरेका थिए। घोषणा गर्दा उनी मद्यपानको प्रभावमा देखिएकाले यस चुनावलाई ‘स्न्याप्स इलेक्सन’ भन्ने उपनाम दिइयो।

त्यसरी नै सन् २००२ मा प्रधानमन्त्री हेलेन क्लार्कले गठबन्धन पार्टनर ‘एलायन्स’ टुटेपछि २७ जुलाईमा समयअघि नै चुनाव घोषणा गरेकी थिइन्। आलोचकहरूले क्लार्कले सरकार चलाउन सक्ने अवस्था हुँदाहुँदै पनि सर्वेक्षणमा पार्टीको बलियो स्थिति देखेर चुनावमा गएको दाबी गरेका थिए।

यद्यपि, असाधारण परिस्थिति उत्पन्न हुँदा चुनाव मिति पछि सारिएको वा संसद्को कार्यकाल बढाइएको उदाहरण पनि छन्। दोस्रो विश्वयुद्धका कारण २६औँ संसद्को कार्यकाल बढाइएको थियो भने १९३० को दशकको आर्थिक मन्दीमा समेत चुनाव ढिला गरिएको थियो। हालै २०२० को आमनिर्वाचन पनि कोभिड–१९ महामारीका कारण केही हप्ता पछाडि सारिएको थियो। १७ अक्टोबर २०२० मा आमनिर्वाचन सम्पन्न भएको थियो। यो चुनाव मूलत: १९ सेप्टेम्बरमा गर्ने तयारी गरिएको थियो, तर कोभिड–१९ महामारीका कारण केही हप्ता पछि सारिएको हो। २०२० को निर्वाचन समयअघि आकस्मिक रूपमा घोषणा गरिएको नभई निर्धारित मिति तर केही ढिला गरिए अनुसार सम्पन्न भएको थियो।