लेबर पार्टीले प्रस्ताव गरेको नयाँ कर नीतिअनुसार पारिवारिक घरबाहेक दोस्रो घर, छुट्टी मनाउने घर (ब्याच) र व्यावसायिक सम्पत्तिबाट हुने नाफामा कर लाग्नेछ। तर कृषियोग्य जमिन (फार्म) र कारखानाको उपकरण भने यस करको दायरामा पर्ने छैन।
लेबरले मंगलबार सार्वजनिक गरेको यो बहुप्रतीक्षित कर नीति आगामी २०२६ को आम निर्वाचनका लागि तयार गरेको नीति हो। यसले क्यापिटल गेन्स कर (Capital Gains Tax) वा सम्पत्ति कर ल्याउने कि नल्याउने भन्ने बहसको अन्त्य गरेको छ।
प्रस्ताव अनुसार १ जुलाई २०२७ पछि पारिवारिक घरबाहेक अन्य सम्पत्तिबाट हुने नाफामा २८ प्रतिशत कर लाग्नेछ। यसबाट उठ्ने रकम स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताइएको छ, जस अन्तर्गत प्रत्येक न्यूजील्याण्डवासीका लागि वर्षमा तीन पटक निःशुल्क डाक्टर परामर्श उपलब्ध गराइनेछ।
यो पनि पढ्नुहोस्: लेबर पार्टीको चुनावी प्रतिवद्धता: वर्षमा ३ पटक चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने
लेबर नेता क्रिस हिप्किन्सका अनुसार, “यस करको उद्देश्य न्यूजील्याण्डलाई सम्पत्ति स्पेकुलेसन (property speculation) बाट टाढा लैजाने हो। यो कर प्रणालीमा महत्वपूर्ण परिवर्तन हो, जसले उत्पादक क्षेत्रमा लगानी प्रोत्साहन गर्न सहयोग पुर्याउनेछ,” उनले भने।
मुख्य घरमा कर लाग्दैन
व्यक्तिको “मुख्य निवास” (main home) बाट हुने नाफा करमुक्त हुनेछ। उदाहरणका लागि, यदि कुनै परिवारले २०१४ मा ५ लाख ५० हजार डलरमा घर खरिद गरेको र २०३० मा ८ लाख डलरमा बेचेको भए, त्यसबीचको मूल्यवृद्धिमा कर लाग्ने छैन।
तर “मुख्य घर” भन्नाले त्यही घर हो जहाँ व्यक्ति वास्तवमै बसोबास गर्छ। यदि कुनै व्यक्तिले आफ्नो पारिवारिक घर बेच्न बिना अर्को शहरमा बसाइँ सरेका छन् भने, उनी नबसिरहेको अवधिमा त्यो सम्पत्ति बिक्री गर्दा कर लाग्ने सम्भावना रहन्छ।
‘Valuation Day’ को अवधारणा
क्यापिटल गेन्स कर १ जुलाई २०२७ अघि भएका नाफामा लागू हुनेछैन। त्यस मितिलाई “valuation day” भनिनेछ। सो मितिपछि हुने मूल्यवृद्धिमात्र करको दायरामा आउनेछ।
उदाहरणका लागि, यदि कुनै घर २०१४ मा ५ लाख ५० हजार डलरमा खरिद गरिएको, २०२७ मा यसको मूल्य ७ लाख डलर थियो र २०३० मा ८ लाख डलरमा बिक्री भयो भने, कर २०२७ पछि बढेको १ लाख डलर नाफामाथि मात्र लाग्नेछ।
यो मूल्याङ्कन Quotable Value वा स्थानीय परिषदले गर्ने मूल्याङ्कनका आधारमा गरिनेछ, जसलाई “valuation day” पछि पाँच वर्षभित्र पुष्टि गर्नुपर्नेछ।\
२८ प्रतिशतको कर दर
नाफामाथि २८ प्रतिशत दरले कर लाग्नेछ, जुन हाल कम्पनी र लगानी नाफामाथिको कर दरसँग मेल खानेछ। यसले हालको “bright-line test” लाई प्रतिस्थापन गर्नेछ, जसले लगानी सम्पत्तिबाट हुने नाफालाई व्यक्तिगत आयकर दरअनुसार कर लगाउँछ।
यदि कुनै सम्पत्ति सुधारका लागि खर्च गरिएको छ भने, त्यो खर्च करयोग्य नाफाबाट घटाइनेछ। यदि बिक्रीमा घाटा भयो भने, त्यो घाटा भविष्यको नाफामा समायोजन गर्न सकिनेछ।
उत्तराधिकारमा कर लाग्दैन – तर सावधानी
उतराधिकार (inheritance) ले प्राप्त सम्पत्तिमा कर लाग्ने छैन। तर जब ती सम्पत्तिबाट भविष्यमा नाफा हुने गर्छ, त्यस नाफामाथि कर लाग्न सक्छ।
उदाहरणका लागि, यदि दुई दाजुभाइले २०२९ मा १२ लाख डलर मूल्यको घर आमाबाबुबाट पाउँछन् र २०३२ मा १३ लाख ४० हजार डलरमा बेच्दछन् भने, त्यसबीचको १ लाख ४० हजार डलर नाफामाथि २८ प्रतिशत कर लाग्नेछ।
चुनाव नजिकिँदै गर्दा लेबरको यो प्रस्तावले कर नीति सम्बन्धी बहसलाई तातेको छ। समर्थकहरूले यसलाई कर प्रणाली सुधारको दिशा भनेका छन् भने विरोधीहरूले यसलाई “ट्याक्स ग्र्याब” (tax grab) भन्दै आलोचना गरेका छन्।


