‘भायानु’ को प्रभाव: नर्थ आईल्याण्डमा रातभर सतर्क रहन सर्वसाधारणलाई आग्रह – New Zealand News Nepal (NZ News Nepal)

‘भायानु’ को प्रभाव: नर्थ आईल्याण्डमा रातभर सतर्क रहन सर्वसाधारणलाई आग्रह

   April 11, 2026  

न्युजिल्याण्डमा चक्रवात ‘भायानु’ का कारण नर्थ आईल्याण्डका अधिकांश भागमा कडा मौसम चेतावनी लागू गरिएको छ। मौसम विभागका अनुसार चक्रवात शनिबार राति नर्थल्यान्ड र अकल्याण्डमा प्रवेश गर्ने र त्यसपछि दक्षिणतर्फ सर्ने अनुमान गरिएको छ। जोखिम बढ्दै गएपछि टौराङ्गा, नर्थल्यान्ड, वाइकाटो (कोरोमण्डल प्रायद्वीपसहित), बे अफ प्लेन्टीका विभिन्न जिल्ला (वेस्टर्न बे अफ प्लेन्टी, व्हाकाटाने, ओपोटिकी) तथा हक्स बे क्षेत्रमा आपतकाल घोषणा गरिएको छ (वाईरोआ बाहेक)। यसैबीच ग्रेट ब्यारेयर टापु/कोरोमण्डल र बे अफ प्लेन्टी–रोतोरोआ क्षेत्रमा ‘रेड स्तरको शक्तिशाली हावा चेतावनी’ जारी गरिएको छ।

चक्रवात ‘भायानु’ को जोखिम बढ्दै गएपछि सम्बन्धित निकायहरूले सर्वसाधारणलाई रातभर सतर्क रहन विशेष आग्रह गरेका छन्। तीव्र हावाहुरी, भारी वर्षा र सम्भावित बाढी–पहिरोका कारण अवस्था अझ जटिल हुन सक्ने भन्दै सबैलाई सजग रहन भनिएको हो।

अधिकारिहरूका अनुसार अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, मोबाइल चार्ज राख्न र आपतकालीन सामग्री तयारी अवस्थामा राख्न अत्यन्त आवश्यक छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

अवस्था नियन्त्रणका लागि न्युजिल्याण्ड डिफेन्स फोर्स नर्थल्यान्ड पुगेको छ र उद्धार तथा अन्य आपतकालीन सहयोगमा खटिएको छ। साथै, स्थानीय सर्फ लाइफसेभर टोलीहरू पनि सहयोगका लागि तयारी अवस्थामा छन्। हक्स बे र व्हाकाटाने क्षेत्रमा अनिवार्य स्थानान्तरण (evacuation) सुरु गरिएको छ। व्हाकाटानेमा विशेषगरी ओहोपे (Ōhope) र थोरन्टनसम्म evacuation विस्तार गरिएको छ, जसमा वेस्ट एन्ड, ओहोपेका सबै घरहरू र बीच पोइन्ट अपार्टमेन्टसम्मका क्षेत्र समावेश छन्। चक्रवातसँगै आउने तीव्र हावा र भारी वर्षा का कारण पहिरो, कटान, नदी तथा खोलाको सतह बढ्ने, समुद्री छाल उग्र हुने, रूख ढल्ने र बाढी आउने जोखिम उच्च रहेको छ। केही क्षेत्रमा सर्वसाधारणलाई सडकमा ननिस्कन निर्देशन दिइएको छ भने मुख्य राजमार्ग र स्थानीय सडकहरू बन्द हुन सक्ने चेतावनी पनि दिइएको छ। स्थानीय निकायले सबैलाई सतर्क रहन र आधिकारिक सूचना पालना गर्न आग्रह गरेका छन्।