भिषण हावाहुरी र वर्षाका कारण उत्तरी नर्थ आईल्याण्ड अस्तव्यस्त, सडक बन्द र विद्युत् अवरुद्ध – New Zealand News Nepal (NZ News Nepal)

भिषण हावाहुरी र वर्षाका कारण उत्तरी नर्थ आईल्याण्ड अस्तव्यस्त, सडक बन्द र विद्युत् अवरुद्ध

   April 12, 2026  

चक्रवात ‘भायानु’ को प्रभावका कारण उत्तरी नर्थ आईल्याण्डमा भिषण हावाहुरी र भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। खराब मौसमका कारण विभिन्न क्षेत्रमा सडक बन्द, विद्युत् आपूर्ति अवरुद्ध र आपतकालीन अवस्था सिर्जना भएको छ।

प्रमुख राजमार्गहरूमा अवरोध देखिएको छ। स्टेट हाई वे ३५ (टोलागा बे–टोकोमारु बे) ठूलो रुख ढलेपछि बन्द गरिएको छ भने स्टेट हाई वे २ वाइओवेका गर्ज रोड, एसएच१ माङ्गामुका गर्ज र स्टेट हाई वे ३५ (टे अरारोआ–हिक्स बे) पनि सावधानीका रूपमा बन्द गरिएका छन्।

यसैबीच हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। विशेषगरी वाइमामाकु–व्हिरिनाकी क्षेत्रमा करिब १००० घर र कोरोमण्डलमा ६०० भन्दा बढी घर अन्धकारमा परेका छन्।

चक्रवातको जोखिमलाई मध्यनजर गर्दै नर्थल्यान्ड, वाइकाटो, टौराङ्गा, बे अफ प्लेन्टीका विभिन्न जिल्ला र हक्स बेमा आपतकाल घोषणा गरिएको छ। साथै केही क्षेत्रमा रेड स्तरको हावाहुरी चेतावनी जारी गरिएको छ।

अधिकारिहरूका अनुसार अहिलेको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको छ। सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।